सुदूरपश्चिम प्रदेश अन्तर्गत सुर्मा गाउँपालिका मा विकासको एउटा महत्वपूर्ण अध्याय सुरु हुन लागेको छ। यहाँको दुर्गम भूगोललाई सहज बनाउन दौलिगाड मोटरेबल पुल निर्माणका लागि रु. ६ करोड ७० लाख बजेट स्वीकृत भएको छ।
यो पुलले विशेषगरी वडा नं. १, २ र ३ लाई वडा नं. ४ र ५ सँग प्रत्यक्ष रूपमा जोड्नेछ। हालसम्म स्थानीय बासिन्दाहरूले जोखिमपूर्ण पैदल मार्ग र अस्थायी बाटो प्रयोग गर्दै आएका थिए। वर्षायाममा त झन् आवतजावत अत्यन्तै कठिन हुने अवस्था रहँदै आएको थियो।
अब निर्माण हुने मोटरेबल पुलले यातायात सहज मात्र बनाउने छैन, शिक्षा, स्वास्थ्य, कृषि तथा व्यापारिक गतिविधिमा समेत उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ। यसले समग्र बझाङ जिल्ला को ग्रामीण विकासमा नयाँ गति दिनेछ।
यस महत्वपूर्ण परियोजनालाई अघि बढाउन गाउँपालिका अध्यक्ष खडक बोहरा, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी राज जोशी तथा जिल्ला पूर्वाधार कार्यालयका हेम राज भट्ट लगायत अन्य जनप्रतिनिधि तथा सरोकारवालाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
उहाँहरूको नेतृत्व, प्रतिबद्धता र विकासप्रतिको सोचका कारण नै यस प्रकारको ठूलो परियोजना सम्भव भएको हो। यसका लागि सम्पूर्ण जनप्रतिनिधि तथा विकासप्रेमी व्यक्तिहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
स्थानीयवासीहरूमा पुल निर्माणप्रति निकै उत्साह देखिएको छ। अब छिट्टै ठेक्का प्रक्रिया सुरु भई निर्माण कार्य अघि बढ्ने विश्वास लिइएको छ। पुल निर्माण सम्पन्न भएपछि सुर्मा गाउँपालिकाको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ।


