अविरल वर्षाको पूर्वानुमानपछि सुर्मा गाउँपालिकामा उच्च सतर्कता, असोज ९ गते विद्यालय बन्द
सुर्मा, बझाङ — मौसमविद्हरूबाट प्राप्त मौसमसम्बन्धी पूर्वानुमानअनुसार असोज ९, १० र ११ गतेसम्म नेपालका विभिन्न स्थानमा अविरल वर्षा हुनसक्ने तथा वर्षाका कारण बाढी, पहिरो, खोलानाला तथा नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको भन्दै सुर्मा गाउँपालिकाले नागरिकलाई उच्च सतर्कता (High Alert) अपनाउन आग्रह गरेको छ।
सुर्मा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, दौलिचौर, बझाङले २०८३/०६/०८ गते जारी गरेको सूचनामार्फत विशेषगरी गाउँपालिकाअन्तर्गतका खोलानाला, नदी तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो।
गाउँपालिकाले जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।
त्यस्तै, सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई आ–आफ्नो स्वास्थ्य संस्थामा उच्च सतर्कतासहित तयारी अवस्थामा रहन, आकस्मिक अवस्था आएमा तत्काल आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन तथा सम्बन्धित निकायसँग समन्वय गर्न गाउँपालिकाले अनुरोध गरेको छ।
असोज ९ गते विद्यालय बन्द रहने
गाउँपालिकाको सूचनाअनुसार २०८३ असोज ९ गते शुक्रबार सम्पूर्ण विद्यालयहरू बन्द रहने जानकारीसमेत दिइएको छ।
जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह
गाउँपालिकाले बाढी तथा पहिरोको सम्भावना भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, खोलानाला तथा नदीमा पानीको बहाव बढेको अवस्थामा खोला तर्ने वा जोखिमपूर्ण स्थानमा जाने कार्य नगर्न आग्रह गरेको छ।
पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने परिवारलाई विशेष सावधानी अपनाउन तथा बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिन अनुरोध गरिएको छ।
सम्भावित विपद्का लागि आवश्यक औषधि, खानेपानी, खाद्यान्न, मोबाइल तथा अन्य अत्यावश्यक सामग्री तयारी अवस्थामा राख्न समेत गाउँपालिकाले आग्रह गरेको छ।
कुनै विपद्, दुर्घटना वा स्वास्थ्यसम्बन्धी समस्या आएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा सुर्मा गाउँपालिका स्वास्थ्य शाखामा जानकारी गराउन गाउँपालिकाले अनुरोध गरेको छ।
सतर्क रहौँ, सुरक्षित रहौँ।
स्रोत: सुर्मा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, दौलिचौर, बझाङ
🔴 थप प्राप्त जानकारी
यसअघि प्राप्त जानकारीअनुसार भेरा, काडा, देवन्न, रोटे, भेलात, नाउली, जुकेना, बेवडी, गोतन्न, डोगडी, किमचौरलगायत जोखिमयुक्त स्थानका नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
त्यस्तै, भोलिदेखि दुई दिनसम्म धनगढी जाने बस सेवा तथा अन्य सवारीसाधन सञ्चालन बन्द रहने जानकारी प्राप्त भएको बताइएको छ। यस विषयमा सम्बन्धित यात्रु तथा नागरिकहरूले आफ्नो यात्रा अघि सम्बन्धित यातायात सेवा/निकायसँग जानकारी पुष्टि गर्नु उचित हुनेछ।


